बङ्गलादेशमा लगभग ६६ हजार श्रवणदृष्टि विहीन व्यक्ति भएको अनुमान गरिएको छ । *
*विश्व श्रवणदृष्टि विहीन महासंघ (WFDB), २०१८सीआरपीडी र एसडीजी कार्यान्वयनमा वहिष्करणको जोखिम: श्रवणदृष्टि विहीन व्यक्ति र असमानता।
बङ्गलादेशमा श्रवणदृष्टि विहीन व्यक्तिलाई सबैभन्दा सिमान्तकृत र संकटासन्न समूह मध्येको एक समूह मानिन्छ ।
श्रवणदृष्टि विहीनतालाई सन् २०१३ देखि छुट्टै अपाङ्गताको रूपमा पहिचान गरिएको छ । सन् २०१३ भन्दा अघि, श्रवणदृष्टि विहीन व्यक्तिहरूलाई बहुअपाङ्गता भएका व्यक्तिको रूपमा लिइन्थ्यो । उनीहरूले दृष्टि र श्रवण सिमितता भएका व्यक्तिलाई सेवा प्रदान गर्ने केन्द्रहरूबाट सेवा लिनुपर्थ्यो ।
सन् २०१३ मा बङ्गलादेश सरकारले अपाङ्गता भएका व्यक्तिको अधिकार र संरक्षण (RPPDA) सम्बन्धी ऐन जारी गर्यो । सो ऐनले श्रवणदृष्टि विहीन लाई छुट्टै प्रकारको अपाङ्गताको मान्यता दियो । यो ऐनले १२ प्रकारका अपाङ्गतालाई मान्यता दिएको छ, जसमध्ये श्रवणदृष्टि विहीन एक हो ।
अपाङ्गता भएका व्यक्तिको अधिकार र संरक्षण सम्बन्धी ऐनमा पूर्ण रूपमा जीवनयापन गर्ने र वृद्धी विकास गर्न पाउने अधिकार, समान कानुनी मान्यता र न्यायको अधिकार, पैतृक सम्पत्तीको अधिकार, अभिव्यक्ति, विचार र सूचनाको अधिकार, परिवारसँग बस्न पाउने अधिकार, परिवार निर्माण गर्ने अधिकार र समाजमा पूर्ण सहभागिताको अधिकार लगायतका विभिन्न सामान्य अधिकारहरू समावेश छन् ।
ऐनको अर्को खण्डमा मौलिक अधिकार छन्, जुन यस प्रकार छन्: पहुँचयुक्तता, सबै तहको शिक्षामा पहुँच, सरकारी तथा गैरसरकारी सँस्थाहरूमा रोजगारी, रोजगारीको क्रममा अपाङ्गता भएमा क्षतिपूर्ति पाउने अधिकार, स्वास्थ्य सेवा पाउने अधिकार र कानुनी सेवा पाउने अधिकार ।
सो ऐन बारे जनचेतना अझै पर्याप्त नभए तापनि, यसले मानिसहरूलाई आफ्नो अधिकारबारे थप जान्न र के सहयोग प्राप्त गर्न सकिन्छ भनी थाहा पाउन सहयोग गरेको छ ।
प्रविधिमा पहुँचको व्यवस्थाले श्रवणदृष्टि विहीन व्यक्तिको जीवनमा ठुलो परिवर्तन ल्याउन सक्छ । यसले सूचना प्राप्त गर्ने, अन्य व्यक्तिहरूसँग सञ्चार गर्ने र दैनिक जीवनमा सहभागी हुने नयाँ उपाय प्रदान गर्छ । यी स्रोत सामग्रीहरूले श्रवणदृष्टि विहीन व्यक्ति र उनीहरूलाई सहयोग गर्ने व्यक्तिहरूलाई जीवनयापन गर्न, सिक्न र वृद्धी विकास गर्न सहयोग पुर्याउँछन् ।