यो कसको लागि उपयोगी हुनेछ?
अपाङ्गता भएका व्यक्तिको संगठन, सरकारी निकाय, नीति निर्माता, जनप्रतिनिधि, अभिभावक, शिक्षक, अपाङ्गताको क्षेत्रमा काम गर्ने संघ/संस्था।
श्रवणदृष्टि विहीनता तथा अन्य अपाङ्गता भएका व्यक्तिहरू र सरोकारवालाहरूका लागि तयार पारिएको यो भिडियो स्रोत HUB मा केन्द्रित छ। यसले सबै अपाङ्गता भएका व्यक्तिहरूले निःशुल्क रूपमा अध्ययन गर्न सक्ने सुनिश्चित गर्न योगदान पुर्याउँछ। यस भिडियोले आवश्यकता अनुसार सिकाइ वातावरण निर्माण गर्न आवश्यक ज्ञान र सीप प्रदान गर्दछ।
प्रशान्तको कथाको प्रतिलिपि
नमस्ते,
मेरो नाम प्रशान्त कठायत हो। म नेपालबाट हुँ। म श्रवणदृष्टि विहीनता भएको व्यक्ति हुँ। म श्रवणदृष्टि विहीन संघ नेपालमा महासचिव र केन्द्रीय बहिरा विद्यालयको शिक्षकको रूपमा कार्यरत छु।
मैले सञ्चारका लागि नेपाली साङ्केतिक भाषा र स्पर्श साङ्केतिक भाषा (Tactile Sign Language) प्रयोग गर्छु। म Global Deafblindness Resource Hub प्रयोग गर्न पाउँदा धेरै खुसी छु। मैले GRH बाट धेरै सिक्ने अवसर पाएको छु।
Global Deafblindness Resource Hub को विषयमा मैले गत वर्ष पोखरामा सम्पन्न भएको Deafblind Conference मा पहिलो पटक सुनेको थिएँ। सम्मेलनमा हबको बारेमा प्रस्तुतीकरण गरिएको थियो, तर त्यसबेला मैले प्रयोग गर्न सिकेको थिइनँ। पछि राष्ट्रिय बहिरा महासंघका कर्मचारीहरूले मलाई हबको प्रयोगबारे सिकाउनुभयो। प्रयोग गरेपछि मैले त्यहाँ धेरै सिक्ने सामग्रीहरूको बारेमा थाहा पाएँ।
हब नेपाली भाषामा पनि भएकाले मलाई सिक्न सजिलो भएको छ। हबमा भएका सामग्रीहरूले मलाई संस्थागत वकालत गर्न र अरूलाई श्रवणदृष्टि विहीनताको बारेमा बुझाउन धेरै सजिलो भएको छ। श्रवणदृष्टि विहीनता सम्बन्धी कुनै पनि सामग्री खोज्नु परेमा वा नयाँ जानकारी प्राप्त गर्नु परेमा हबबाट सजिलै खोज्न सकिन्छ।
मेरो केही सुझावहरू पनि छन्:
हाल स्रोत सामग्रीहरू नेपाली भाषामा छन्, तर धेरै श्रवणदृष्टि विहीनता भएका व्यक्तिहरूलाई लामो-लामो लिखित भाषा बुझ्न कठिनाइ हुन्छ। त्यसैले, यी सामग्रीहरू नेपाली साङ्केतिक भाषामा पनि राखिदिँदा अझ राम्रो हुने थियो। अन्त्यमा, यो हब निर्माणको काम धेरै राम्रो भएकोले म धन्यवाद दिन चाहन्छु।