यो कसको लागि उपयोगी हुनेछ?
अपाङ्गता भएका व्यक्तिको संगठन, सरकारी निकाय, नीति निर्माता, जनप्रतिनिधि, अभिभावक, शिक्षक, अपाङ्गताको क्षेत्रमा काम गर्ने संघ/संस्था।
यो स्रोतले श्रवणदृष्टि विहिनताका बारेमा जानकारी दिएको छ । यसमा जन्मजात र जन्मपश्चात विकसित हुने श्रवणदृष्टि विहिनताको प्रकार, सम्भावित कारण, र यसका लक्षणहरू समेटिएका छन् । साथै, यसले प्रभावित व्यक्तिहरूले दैनिक जीवन, शिक्षा, संचार, र यातायातमा भोग्ने कठिनाइहरूलाई पनि समेटेको छ ।
स्रोतले अभिभावक, शिक्षक, र समुदायका सदस्यहरूलाई चेतना बढाउन, प्रारम्भिक पहिचान गर्न, र आवश्यक सहयोग तथा वैकल्पिक संचार विधिहरू अपनाउन सुझाव दिन्छ। यसले प्रत्येक व्यक्तिको क्षमता अनुसार उपयुक्त संचार र शिक्षा प्रणाली अपनाउन, पहुँच सुनिश्चित गर्न, र श्रवणदृष्टि विहिन व्यक्तिको अधिकार र सम्मान कायम राख्न मद्दत पुर्याउँछ।
प्रतिलिपि: श्रवणदृष्टि विहिन भनेको के हो
श्रवणदृष्टि विहिनता अपाङ्गताको वर्गीकरण अनुसार एक छुट्टै प्रकारको अपाङ्गता हो । एउटै व्यक्तिमा सुनाई र दृष्टि क्षमतामा कठिनाई हुन्छ भने त्यस्तो अवस्थालाई श्रवणदृष्टि विहिनता अवस्था भनिन्छ । यसको अर्थ व्यक्तिको दैनिक क्रियाकलापलाई असर गर्ने गरी दृष्टि र श्रवणमा सिमितता छ भन्ने हुन्छ । यस्तो अवस्थाका व्यक्तिहरुलाई सूचनामा पहुँच अन्य व्यक्तिसँग संचार गर्न र आवागमनमा कठिनाई हुन्छ ।
श्रवणदृष्टि विहिनता हुदैमा व्यक्ति पुरै बहिरा र दृष्टिविहिन भन्ने हुदैन । धेरै जसो श्रवण दृष्टिबिहिन व्यक्तिहरुमा केही मात्रामा दृष्टि र श्रवण क्षमता बाँकी रहेको हुन्छ । दृष्टि र श्रवण क्षमतामा सिमितता हुँदा व्यक्तिलाई दैनिक क्रियाकलापमा भने कठिनाई हुने गर्दछ ।
सन् २०२४ मा गरिएको एक अध्ययन अनुसार संसारको जनसंख्याको ०.२ प्रतिशत व्यक्तिहरुमा गम्भीर श्रवणदृष्टि विहिनता रहेको देखिएको छ । थप २ प्रतिशत व्यक्तिहरु सामान्य स्वरुपका श्रवणदृष्टि विहिन अवस्थामा बाचिरहेका छन् । यसको अर्थ झन्डै १६ करोड मानिसहरु श्रवणदृष्टि विहिन अवस्थामा बाचिरहेका छन् ।
श्रवणदृष्टि विहिनताका प्रकारहरु श्रवणदृष्टि विहिनता हुने समयका आधारमा यसलाई दुई प्रकारमा बाँडिएको छ: जन्मजात हुने श्रवणदृष्टि विहिनता र जन्मपश्चात हुने श्रवणदृष्टि विहिनता
जन्मजात श्रवणदृष्टि विहिनता भनेको जन्मेदेखि नै दृष्टि र श्रवण सम्बन्धि अपाङ्गता भएको, जन्मेको दुई वर्ष भित्र अथवा भाषाको विकास नहुदै श्रवणदृष्टि विहिन भनि पत्ता लागेको अवस्था हो । यो गर्भावस्थामा भएको कुनै संक्रमणको कारणले समय नपुगी जन्मेको कारणले, जन्मिने समय लाग्ने चोटपटक र दुर्लभ वंशाणुगत अवस्थाको कारणले हुने गर्दछ ।
जन्मपश्चात हुने श्रवणदृष्टि विहिनता पछी विकसित भएको श्रवणदृष्टि विहिनता भन्नाले जीवनमा पछी दृष्टि र श्रवण क्षमतामा भएको ह्रास भन्ने बुझिन्छ । रोग दुर्घटना वा उमेरको कारण कुनै पनि व्यक्ति कुनै पनि उमेरमा श्रवण दृष्टिविहिन बन्न सक्छन् । कहिलेकाही कुनै व्यक्ति जन्मिदा बहिरा मात्रै वा दृष्टिबिहिन मात्रै भइ जन्मने र उमेर बढेसँगै उसको अर्को ज्ञानेन्द्रियको क्षमता पनि परिवर्तन हुँदै वा ह्रास हुँदै जान सक्छ ।
जन्मजात हुने श्रवण दृष्टि विहिनताका कारणहरु जन्मजात हुने श्रवण दृष्टिविहिनताका सम्भावित कारणहरु यस प्रकार हुनसक्छन्: समय अगावै हुने जन्मसँग जोडिएका समस्याहरु गर्भ रहेको ३७ हप्ता भन्दा अगावै हुने जन्म गर्भ भित्र शिशुमा हुने संक्रमण जस्तै रुबेला (जर्मन दादुरा) गर्भावस्था र जन्मिने समयमा भएका जटिलताहरु जस्तै भौतिक चोटपटक र पोषणमा कमी वंशाणुगत अवस्था, जस्तै चार्ज सिन्ड्रोम मस्तिष्क पक्षघात फिटल अल्कोहल सिन्ड्रोम गर्भावस्थामा आमाले रक्सी पिउदा आउने स्वास्थ्य समस्या ।
जन्मपश्चात हुने श्रवणदृष्टि विहिनता कारणहरु: उमेरको कारणले श्रवण र दृष्टि क्षमतामा ह्रास । सुनाई दृष्टि र सन्तुलनलाई असर गर्ने एक वंशाणुगत अवस्था-असर सिण्ड्रोम मधुमेहसँग सम्बन्धित रेटिनोपेथी मेनिन्जाइटिस, इन्स्फलाइटिस, पक्षघात वा टाउकोमा गम्भीर चोट आदिको कारण हुने मस्तिष्क क्षय ।
श्रवण दृष्टिविहिनताको लक्षण पहिचान श्रवण शक्तिमा क्षय भएमा देखिने केही साझा लक्षणहरु यस प्रकार छन् । कसैले पछाडीबाट बोल्दा नसुन्नु, आफु बसेको स्थानमा कोही आएको नसुनेर तर्सिनु, टेलिभिजन रेडियो वा मोबाइल फोनको भोलुम वा आवाज ठुलो बनाउनु, आफुसँग बोलेका मानिसलाई जवाफ दिन ढिलाई हुनु,
यसैगरी दृष्टि क्षमता ह्रास भएका व्यक्तिमा देखिने लक्षणहरु यस प्रकार छन् । कम प्रकाश वा प्रकाश भएको ठाउँमा हेर्न हुनु, आफुले चिनेकै व्यक्तिलाई पनि खासगरी अनपेक्षित परिवेशमा नचिन्नु, वस्तुहरु खोज्न सामान्य भन्दा धेरै छुवाईमा भर पर्नु, किताब पत्रपत्रिका वा मोबाइल फोन आँखा नजिकै राखेर हेर्नु वा टेलिभिजनको नजिक बस्न खोज्नु, व्यक्तिमा हुने गाम्भीर्यताको आधारमा भने श्रवण दृष्टिविहिनतालाई ४ भागमा बाडेर हेर्न सकिन्छ: पूर्ण श्रवण दृष्टिविहिनता उहा हुनुहुन्छ दिपक ।
दिपक जन्मजात बहिरा व्यक्ति हुन् र १२ वर्षको उमेरमा उनको दुवै आँखाले पूर्ण रुपमा देख्न पनि छोडेको हो । दिपकले संचारको लागि सांकेतिक भाषा, स्पर्श संचार, ब्रेल, ह्याप्टिक सिग्नल र हातमा लेखेर गरिने संचारका विधिको प्रयोग गर्दछन् । यसको अर्थ पूर्ण श्रवण दृष्टिविहिन व्यक्तिले पूर्णरुप रुपमा सुन्न र देख्न सक्दैनन् । यस्तो व्यक्तिलाई भाषा विकास भएको र नभएको अवस्था हेरी फरक फरक संचारका विधिको प्रयोग गर्न सकिन्छ ।
दृष्टि बिहिनता र सुस्त श्रवण यस अवस्थाका व्यक्तिहरु पूर्ण रुपमा देख्न नसक्ने तर थोरै मात्रामा सुन्न सक्ने हुन्छन् । उनीहरुले हेयरिङ एडको प्रयोग गरेर वा नगरेर पनि नजिकबाट ठुलो स्वरले बोलेको सुन्न सक्दछन् ।
म चाहिँ जन्मजात दृष्टिविहिन हुँ । जब म १७ वर्षको थिए, त्यसबेला मेरो कानमा पनि समस्या देखिन थाल्यो । मेरो सुनाई क्षमता क्रमश: घट्दै गयो । टाढाबाट कसैले बोल्दा म सुन्न सक्दिन, तर नजिकैबाट बोलाउदा शब्द छुट्टिने गरि बोल्दा, प्रष्टसँग सुन्छु तर आवाज बुझ्न मलाइ अप्ठेरो हुन्छ ।
मेरो समस्या केवल सुनाईमा नभई बुझाइमा पनि रहेको छ । केवल सुनाइको समस्या हुन्थ्यो भने, श्रवण सहायक उपकरण (Hearing Aid) ले केही हदसम्म मद्दत गर्थ्यो होला । तर दुर्भाग्यवाश, मेरो बुझाइमा समेत समस्या भएकोले, मेसिनबाट पनि खासै सहयोग प्राप्त गर्न सक्दिन । त्यसैले, जब कोही मसँग कुरा गर्छन भने, उनीहरुले शब्दहरुलाई स्पष्ट र छुट्टाछुट्टै गरि बिस्तारै बोल्नुपर्छ । जसले गर्दा शिक्षा, संचार, यातायात सबै कुराहरुमा अवरोध सृजना भएको छ । म बाटोमा हिड्दा टाढाको गाडीको आवाज सुन्न सक्दिन र नजिक आएपछि तर्सिन्छु, बाटोमा कसैको सहयोग बिना बाटो पार गर्न नसक्नु किनभने ब्लाइण्डले मात्र त सुनेको आधारमा सकिन्छ हैन तर मलाई सुनाइमा पनि कठिनाइ भएका कारण मलाइ समस्या हुन्छ ।
क्याम्पसमा गएर अध्ययन गर्ने क्रममा शिक्षकको आवाज म सुन्न त सक्छु तर म बुझ्न सक्दिन । के भन्नुभयो, के पढाउदै हुनुहुन्छ? कुन विषयवस्तुमा पढाई हुँदैछ, त्यो म बुझ्न सक्दिन । तसर्थ मेरो पढाईमा निकै ठुलो समस्या सिर्जना भएको छ । उनीहरुले संचारका लागि बोलेर, ब्रेलको प्रयोग गरेर र ह्याप्टिक सिग्नलको प्रयोग जस्ता विधिको प्रयोग गर्दछन् ।
बहिरा तथा न्यून दृष्टियुक्त यस अवस्थाका व्यक्तिहरु पूर्ण रुपमा सुन्न नसक्ने तथा केही मात्रामा देख्न सक्ने हुन्छन् । उहाहरु जन्मजात बहिरा व्यक्ति हुन् । हाल उहाहरुलाई देख्नमा पनि कठिनाइ बढ्दै गएको छ । धेरै उज्यालो र साझको बेलामा उहाहरुलाई देख्न पनि कठिनाइ हुन्छ ।
कक्षामा सेतोपाटीमा लेखिएका अक्षर प्रस्ट नदेख्ने र शिक्षकले गरेको संकेत समेत देख्न कठिनाइ हुन्छ उनिहरुलाई । पहिला स्कुलको कोठामा कोठामा ब्ल्याक बोर्ड थियो । त्यसमा लेखिएको लेखाइ म टाढाबाट देख्न सक्दिनथे । तर नजिक गएर हेर्दा अलिकति देखिन्थ्यो । जब म टिचरलाई अक्षर् अलिकति ठुलो गरेर लेखिदिन अनुरोध गर्थे, उहाँ रिसाउनुहुन्थ्यो, जसले मलाइ असहज बनाउथ्यो ।
त्यो मेरो दृष्टिमा आएको पहिलो समस्यामध्ये एक थियो । पछी मेरा केही साथीहरुले मलाइ सहयोग गर्न थाले । कहिलेकाहीँ झ्यालबाट आउने उज्यालो प्रकाशले मेरो आँखामा असर पर्थ्यो, जसले गर्दा म लेखिएको कुरा अझै राम्ररी हेर्न सक्दिनथे ।
चस्मा खोलेर हेर्दा त झनै गाह्रो हुन्थ्यो, अलिकति मात्रै देखिन्थ्यो । त्यसपछि म हस्पिटल गए । औषधि पनि खाए, तर त्यसले पनि राम्रो नतिजा दिइएन ।बरु अझै दृष्टिमा समस्या बढ्यो । टाढाबाट कुनै वस्तु या अक्षर देख्ने सक्दिन थिए । तर नजिक आएर हेर्दा अलिकति देख्न सकिन्थ्यो ।
बहिरा अपाङ्गताको अवस्थाबाट उहाँहरु श्रवणदृष्टि विहिनताको अवस्थामा पुग्नु भएको छ । जसका कारण गमनशिलता र संचारमा अवरोधको सामना गर्नु परेको छ । यसको असरबाट शिक्षा लिन र सूचना प्राप्त गर्न कठिनाई बढ्दै गएको छ । उनीहरुलाई बढी घाम वा प्रकाश र कम उज्यालो भएको ठाउँ, रङहरु छुट्याउन कठिन हुन्छ । उनीहरुले संचारको लागि नजिकबाट सांकेतिक भाषा स्पर्श संचार जस्ता विधिको प्रयोग गर्दछन् ।
सुस्त श्रवण तथा न्यून दृष्टियुक्त यस अवस्थाका व्यक्तिहरु केही मात्रामा सुन्न र देख्न सक्दछन् । भिडभाड भएको ठाउँमा हल्ला भएको कोलाहल ठाउँमा आवाज सुने पनि कुरा के हो, शब्द के बोलेको छ भन्ने कुरा प्रस्ट हुदैन। धेरै गाडी गुड्ने र भिडभाड भएको ठाउँमा साउन्ड बजिरहेको कार्यक्रम हलको थर्काहटले पनि म राम्रो सँग बुझ्न सक्दिन ।
अलिकति उज्यालो कम भयो भने मलाई देख्न कठिनाइ हुन्छ । रङ्गहरु छुट्याउन मानिसको अनुहार छुट्याउन र धेरै उज्यालो भएको ठाउँमा पनि मलाई धेरै कठिनाइ हुन्छ । बाटोमा हिड्दा खाल्डो छ कि पानी छ कि वा धुलो छ थाहा पाउदिन । ग्रबेल बाटो पनि सम्म मिलेको जस्तो देखिन्छ । त्यस्तो ठाउँमा खुट्टाले छामेर विस्तारै हिड्नुपर्छ, कहिलेकाहीँ लडिन्छ पनि । उनीहरुलाई झट्ट हेर्दा कुनै कठिनाइ जस्तो नदेखिए पनि संचारमा भने निकै कठिनाइ रहेको हुन्छ । दैनिक जीवनमा धेरै समस्याहरुको सामना गर्नुपरेको छ । जस्तै, कुनै कार्यालय जानुपर्दा यदि त्यहा अध्यारो प्यासेज, सिंढी वा खुट्टा उक्लेर जानुपर्ने ठाउँ हुन्छ भने, म सजिलै देख्न सक्दिन र अगाडि बढ्न निकै गाह्रो हुन्छ ।
कहिलेकाही बत्ती बलेको भए पनि वा मोबाइलको उज्यालो प्रयोग गर्दा पनि पर्याप्त उज्यालो नहुँदा ती ठाउँ पार गर्न मुस्किल हुन्छ । यतिबेला सहयोगी हातहरु नपाउँदा, आफु जान सकिदैन । सेतोछडी प्रयोग गर्न पर्ने अवस्था पनि नभएको कारणले गर्दा त्यो ठाउँमा यताउता हिड्दै गर्दा, त्यो कार्यालयमा प्रवेश गर्दा उज्यालोको अभावमा लेख्नुपर्ने काम गर्दा अझ गाह्रो हुन्छ । जब म कार्यालयका कर्मचारीहरुलाई आफ्नो अपांगताको प्रकृति र त्यसले ल्याउने कठिनाइहरुबारे जानकारी दिन्छु ।
धेरैले मेरो कुरा नबुझिदिने वा नसुनिदिने गरेका हुन्छन् । संचारको लागि सांकेतिक भाषा, बोलेर, लेखेर र स्पर्श संचार जस्ता विधिहरुको प्रयोग गर्दछन् ।
माथिका सबै अवस्थाका बालबालिकालाई विद्यालय वा घरमा संचारमा निकै अवरोध भइरहेको हुन्छ । जसले उनीहरुको सिकाई र सामाजिकीकरणमा बाधा पुगेको हुन्छ । तपाईमा पहिले देखि नै श्रवण सिमितता छ वा बहिरा हुनुहुन्छ भने, वा हेयरिङ्ग एड लगाइरहनु भएको छ वा सांकेतिक भाषाको प्रयोग गरिरहनु भएको छ, भने आफ्नो आँखाको हेरविचार गर्नुहोस् । आँखाको शक्ति पनि गुम्दै गएको छ कि भनि लक्षणहरु प्रति सचेत रहनुहोस् र आँखा विशेषज्ञसँग आँखा जचाउनुहोस्।
सम्भव भएसम्म, नियमित रुपमै आँखा जचाउनुपर्दछ। तपाईमा पहिले देखि नै दृष्टि सिमितता छ वा चस्मा लगाउनुहुन्छ, सेतो छडी प्रयोग गर्नुहुन्छ, वा जलबिन्दु वा मोतिबिन्दु जस्तो समस्या छ भने, आफ्नो श्रवण शक्तिको ख्याल गर्नुहोस्। श्रवण शक्ति पनि गुम्दै छ कि भनी लक्षणहरु प्रति सचेत रहनुहोस् र अडियोलोजिस्टसँग श्रवण शक्तिको जाच गराउनुहोस् । सम्भव भएसम्म नियमित रुपमा जचाउनु पर्दछ । यहाँ उल्लेख गरिएका कुनै पनि लक्षण देखिएमा आफ्नो स्थानीय चिकित्सक वा स्वास्थ्यकर्मीलाई जति सक्दो छिटो सम्पर्क गर्नुहोस् । श्रवणदृष्टि विहिनता जति चाडै पहिचान भयो, त्यति नै चाडै उपचार सम्भव भए उपचार सुरु गर्न सकिन्छ वा यस अवस्थाको व्यवस्थापन सुरु गर्न सकिन्छ ।
खासगरी बालबालिकाको जति शिघ्र पहिचान हुन सक्यो । उनीहरुलाई संचार तथा दैनिक जीवनका सिप र सिकाई क्रियाकलाप सिकाउन सकिन्छ । श्रवणदृष्टि विहिनता एक जटिल र कम पहिचान भएको अवस्था हो । जसले व्यक्तिको संचार, शिक्षा र दैनिक जीवनमा गम्भीर असर पार्छ। यस अवस्थामा रहेका व्यक्तिहरुलाई विशेष सहयोग, सूचनामा पहुँच र वैकल्पिक संचार विधिको आवश्यकता पर्दछ । प्रारम्भिक पहिचान, अभिभावक र शिक्षकको भूमिका र समावेशी वातावरणले उनीहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्छ ।
प्रत्येक व्यक्तिको क्षमता फरक हुने भएकाले पूर्ण संचार विधि अपनाउनु आवश्यक छ । सचेत बनौँ, पहुँचयोग्य बनौ र श्रवणदृष्टि विहिन व्यक्तिको अधिकार र सम्मान सुनिश्चित गरौँ ।