प्रकाशित मिति
फ्रेवुअरी 2025
सिर्जना
सेन्स इन्टरनेसनल रोमानिया
स्वीकारोक्ती
सेन्स इन्टरनेसनल यूके

यो अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघीय महासन्धीमा व्याख्या गरिए बमोजिमका अपाङ्गता भएका व्यक्तिका केही अधिकार सम्बन्धी छोटो प्रस्तुती हो ।

यो कानुनी दस्तावेज होइन ।

यो पेजमा तपाईंले देहाय बमोजिमको जानकारीहरू पाउनुहुनेछः

महासन्धी भनेको के हो ?

संयुक्त राष्ट्र संघ भनेको के हो ?

अधिकारको अर्थ के हो ? – धारा १ मा जाने लिङ्क

केही शब्द –  संचार र विभेद –  धारा २ मा जाने लिङ्क

समान अधिकार – धारा ३ र ५ मा जाने लिङ्कहरू

अपाङ्गता भएका बालिका, किशोरी तथा महिलाहरू – धारा ६ मा जाने लिङ्कहरू

अपाङ्गता भएका बालबालिका – धारा ७ मा जाने लिङ्कहरू

स्वतन्त्रता, सुरक्षा, संरक्षण – धारा १४, १५, १६ र १७ मा जाने लिङ्कहरू

स्वतन्त्र जीवन, गमनशिलता –  धारा १९ र २०मा जाने लिङ्कहरू

परिवार – धारा २३मा जाने लिङ्कहरू

शिक्षा – धारा २४मा जाने लिङ्कहरू

स्वास्थ्य –  धारा २५मा जाने लिङ्कहरू

रमाइलो, मनोरञ्जन र खेलकुद – धारा ३० मा जाने लिङ्कहरू

महासन्धी भनेको के हो ?

महासन्धी भनेको संसारभरका धेरै देशका मानिसहरूले बनाएको दस्तावेज हो ।

अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघीय महासन्धीमा अपाङ्गता भएका व्यक्तिहरूको विभिन्न अधिकारहरू सहित ५० धाराहरू रहेका छन् ।  

महासन्धीले अपाङ्गता भएका व्यक्तिको अन्य व्यक्ति सरह जीवनयापनको लागि विभिन्न देशका सरकारहरूले के गर्नुपर्छ भन्ने उल्लेख गरेको छ ।

संयुक्त राष्ट्र संघ भनेको के हो ?

संयुक्त राष्ट्र संघ संसारभरका १९३ देश मिलेर बनेको अन्तर्राष्ट्रिय संस्था हो । यी देशहरूले एक आपसमा मिलेर संसारमा शान्ति कायम गर्न, मुलुकहरू बिचको मित्रता कायम गर्न, र बालबालिका र अपाङ्गता भएका व्यक्ति लगायतका मानिसहरूको जीवनस्तर सुधार गर्न काम गर्छन् ।

अधिकार भनेको के हो ?

अपाङ्गता भएका लगायतका सबै बालबालिकाको समान अधिकार हुन्छ । सबै अधिकारहरू महत्वपूर्ण हुन्छन् ।

उदाहरणको लागि, अपाङ्गता भएका बालबालिकाको विद्यालय जाने अधिकार हुन्छ, स्वस्थ रहने अधिकार हुन्छ, ठुलो भएपछि काम गर्ने अधिकार हुन्छ, खुशीसाथ  जीवनयापन गर्ने अधिकार हुन्छ, साथै महासन्धीमा उल्लेख भएका अन्य अधिकार हुन्छन् । महासन्धीको प्रावधान अनुसार देशहरूले यी अधिकारको पालना गर्नुपर्दछ ।

अपाङ्गता भनेको के हो ?

अपाङ्गता भएका व्यक्ति भन्नाले ती व्यक्ति हुन् जसलाई आफू वरिपरि भएको कुनै बाधाको कारण लामो समयसम्म हिँड्न, हेर्न, सुन्न, सिक्न वा विभिन्न क्रियाकलाप गर्न गार्हो पर्छ ।

यो विषय महासन्धीको धारा १ सँग सम्बन्धित छ । धारा १ महासन्धीको उद्देश्यसँग सम्बन्धित छ

केही शब्द

संचार भन्नाले अपाङ्गता भएका व्यक्तिले सन्देशहरू बुझ्ने र प्रवाह गर्ने विभिन्न तरिकालाई बुझाउँछ । उदाहरणको लागि साङ्केतिक भाषा, ब्रेल, कम्प्युटर र प्रविधिहरू ।

भेदभाव भन्नाले अपाङ्गता भएको कारण अन्य व्यक्ति भन्दा फरक तरिकाले व्यवहार गर्ने वा वहिष्करण गर्ने व्यवहारलाई जनाउँछ ।

यो विषय महासन्धीको धारा २ सँग सम्बन्धित छ । धारा २ महासन्धीमा प्रयोग भएका शब्दहरूको परिभाषासँग सम्बन्धित छ ।

समान अधिकार

  • मानिसहरूलाई आफ्नो छनौट गर्ने अधिकार हुन्छ ।
  • कसैलाई पनि भेदभाव गर्नु हुँदैन ।
  • अपाङ्गता भएका व्यक्तिलाई पनि अन्य व्यक्ति सरह समाजमा सहभागी हुने समान अधिकार हुन्छ ।
  • अपाङ्गता भएका बालबालिका र अपाङ्गता भएका अन्य व्यक्तिलाई उनीहरू जे जस्तो छन् सोही अवस्थामा सम्मान गर्नु पर्दछ ।
  • सबै मानिसले समान अवसर र समान पहुँच पाउनु पर्दछ ।
  • महिला र पुरुषलाई समान अवसर प्रदान गर्नु पर्दछ ।
  • यो विषय महासन्धीको धारा ३ र धारा ५ सँग सम्बन्धित छ । धारा ३ साधारण सिद्धान्तसँग सम्बन्धित छ । धारा ५ समानता र गैर–भेदभावसँग सम्बन्धित छ ।

अपाङ्गता भएका बालिका, किशोरी तथा महिलाहरू

अपाङ्गता भएका बालिका, किशोरीहरू र महिलाहरूलाई अन्यायपूर्ण र असमान व्यवहार गरिन्छ भन्ने विषयमा सबै मुलुकहरू सहमत छन् ।

त्यसैले, सबै देशका सरकारहरूले बालिका, किशोरी र महिलाहरूले पनि बालक, किशोर र पुरुषहरू सरह समान अधिकार, अवसर र स्वतन्त्रता पाएको सुनिश्चित गर्नुपर्दछ ।

यो विषय महासन्धीको धारा ६ सँग सम्बन्धित छ । धारा ६ अपाङ्गता भएका महिलासँग सम्बन्धित छ ।

अपाङ्गता भएका बालबालिका

अपाङ्गता भएका बालबालिकाको अन्य बालबालिका सरह अधिकार हुन्छ ।

उनीहरूले गर्ने सबै क्रियाकलापमा अपाङ्गता भएका बालबालिकाको लागि सबै भन्दा राम्रो के हुन्छ भनी देशहरूले सोच्नुपर्दछ । उनीहरूको आवाज सुन्नु पर्दछ र सम्मान गर्नु पर्दछ ।

यो विषय महासन्धीको धारा ७ सँग सम्बन्धित छ । धारा ७ अपाङ्गता भएका बालबालिकासँग सम्बन्धित छ ।

स्वतन्त्रता, सुरक्षा, संरक्षण

देशहरूले अपाङ्गता भएका व्यक्तिहरूको स्वतन्त्रताको रक्षा गर्नुपर्दछ र तिनीहरूलाई दुर्व्यवहार गरिएको छैन भन्ने सुनिश्चित गर्नु पर्दछ ।

कसैलाई पनि यातना दिनु हुँदैन, सजाय दिनु हुँदैन, क्रूर, अमानवीय वा लाञ्छनायुक्त व्यवहार गर्नु हुँदैन ।

कसैलाई पनि शोषण, हिंसा र दुर्व्यवहार गर्नु हुँदैन ।

यी विषय महासन्धीको निम्न धाराहरूसँग सम्बन्धित छन्:

धारा १४, व्यक्तिको स्वतन्त्रता र सुरक्षा

धारा १५, यातना वा क्रूर, अमानवीय वा लाञ्छनायुक्त व्यवहार वा सजायबाट उन्मुक्ती

धारा १६, शोषण, हिंसा र दुर्व्यवहारबाट उन्मुक्ती

धारा १७, व्यक्तिको आत्मसम्मानको रक्षा

स्वतन्त्र जीवन, गमनशिलता

अपङ्गता भएका व्यक्तिलाई आफ्नो जीवनमा के गर्ने भन्ने बारे छनौट गर्ने र स्वतन्त्रतापूर्वक आवतजावत गर्ने अधिकार हुन्छ ।

अपाङ्गता भएका व्यक्तिलाई उचित सेवाहरू प्रदान गरि उनीहरूले ती कुरा गर्न सक्छन् भन्ने देशहरूले सुनिश्चित गर्नुपर्दछ ।

यी विषय महासन्धीको निम्न धाराहरूसँग सम्बन्धित छन्:

धारा १९, स्वतन्त्र रूपमा बस्ने र समुदायमा समावेश गरिने

धारा २०, व्यक्तिगत गमनशिलता

परिवार

अपाङ्गता भएका व्यक्तिलाई परिवार सम्बन्धी अधिकार र व्यक्तिगत सम्बन्धहरू कायम गर्ने अधिकार हुन्छन् । अपाङ्गता भएका बालबालिकाहरूलाई परिवारसँग बस्ने अधिकार हुन्छ ।

देशका सरकारहरूले यी अधिकारहरूको सम्मान भएको सुनिश्तिच गर्नुपर्दछ ।

यो विषय महासन्धीको धारा २३ सँग सम्बन्धित छ । धारा २३ घर र परिवारको सम्मानको बारेमा हो ।

शिक्षा

अपाङ्गता भएका बालबालिकालाई पनि अन्य बालबालिका सरह विद्यालय जाने र सिक्ने अधिकार हुन्छ ।

बाबुआमा, शिक्षकहरू र अन्य सबैजनाले उचित भाषा र विधिहरू प्रयोग गरि बालबालिकालाई सिक्न सहयोग गर्नुपर्दछ ।

यो महासन्धीको धारा २४ सँग सम्बन्धित छ । धारा २४ शिक्षासँग सम्बन्धित छ ।

स्वास्थ्य

अपाङ्गता भएका व्यक्तिलाई स्वस्थ जीवनयापन गर्ने र बिरामी भएमा डाक्टर र स्वास्थ्य उपचार सेवा पाउने अधिकार हुन्छ

बाबुआमा, डाक्टरहरू र अन्य सबैजनाले बालबालिकालाई स्वस्थ रहन सहयोग गर्नु पर्दछ ।

यो विषय महासन्धीको धारा २५सँग सम्बन्धित छ । धारा २५ स्वास्थ्यसँग सम्बन्धित छ ।

मनोरञ्जन, रमाइलो र खेलकुद

अपाङ्गता भएका व्यक्तिलाई अन्य व्यक्ति सरह खेलकुद खेल्ने, र साँस्कृतिक जीवन र मनोरञ्जनमा रमाउने अधिकार हुन्छ ।

अपाङ्गता भएका व्यक्तिहरूको लागि किताबहरू, कार्यक्रमहरू, सङ्ग्रहालय, चलचित्रहरू र खेलकुदहरू पहुँचयुक्त हुनुपर्दछ ।

यो विषय महासन्धीको धारा ३०सँग सम्बन्धित छ  । धारा ३० साँस्कृतिक जीवन, मनोरञ्जन, रमाइलो र खेलकुदसँग सम्बन्धित छ ।

महासन्धीको पूर्णपाठ यहाँ पढ्न सकिन्छः

अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धी (CRPD) । समावेशी सामाजिक विकास महाशाखा (DISD)

यो दस्तावेज सुरुमा सेन्स ईन्टरनेशनल रोमानियाले सन् २०२०मा विकास गरेको थियो । त्यसपछि सन् २०२४मा अन्तर्राष्ट्रिय प्रयोगकर्ताको लागि सेन्स ईन्टरनेशनल युकेले सम्पादन गरेको हो ।

यो उपयोगी भयो कि भएन ?

साझेदारी गर्नुहोस्


मिल्दा जुल्दा स्रोत सामग्री

सहायक प्रबिधी

श्रवणदृष्टि विहीनता भएका व्यक्तिहरूका लागि नेपालमा उपलब्ध सहायक प्रविधिहरू हेर्नुहोस्।

नेपालका स्थानीय समाचारहरु

नेपालका स्थानीय समाचारहरू पढ्नुहोस्।

मोबाइल एपहरु

मोबाइल एप्लिकेशनहरूले तपाईंको अनलाइन अनुभव बढाउन मद्दत गर्दछ। यी सबै नेपालमा उपलब्ध छ ।