यो कसको लागि उपयोगी हुनेछ?

बहिरापन भएका व्यक्तिहरू, आमाबाबु / हेरचाहकर्ताहरू, शिक्षकहरू र आम जनता।

प्रकाशित मिति
फ्रेवुअरी 2025
सिर्जना
Sense UK

यो पेजमा श्रवणदृष्टि  विहीनताका बारेमा व्याख्या गरिएको छ । यसमा श्रवणदृष्टि विहीनताका विभिन्न प्रकारहरूबारे पनि जानकारी समावेश छ । साथै, भरखरै जन्मेको बालबालिका र वयस्कमा यसका कारणहरू, यसको निदान, यसका लक्षणहरू र यसको अन्तर्निहित कारणको उपचार र अवस्थाको व्यवस्थापनबारे पनि जानकारी छ ।

यो पृष्ठमा यसप्रकारका विषयहरू छन् :

श्रवणदृष्टि विहीनता भनेको के हो ?

श्रवणदृष्टि विहीनता भनेको आफैंमा एक छुट्टै प्रकारको अपाङ्गता हो । तर धेरै देशमा यसलाई अझै यही रूपमा मान्यता दिइएको छैन ।

यसको अर्थ तपाईंको दैनिक क्रियाकलापलाई असर गर्ने गरि दृष्टि र श्रवणमा सिमितता छ भन्ने हुन्छ । सूचनामा पहुँच प्राप्त गर्न, अन्य व्यक्तिहरूसँग सञ्चार गर्न र आफैँ हिँडडुल गर्न धेरै नै गार्हो हुनसक्छ ।

श्रवणदृष्टि विहीनता हुँदैमा तपाईं पूरै बहिरा वा दृष्टिविहिन भन्ने हुँदैन । धेरैजसो श्रवणदृष्टि विहीन व्यक्तिहरूमा केही न केही दृष्टि र श्रवण क्षमता हुन्छ ।

दृष्टि क्षमता र श्रवण क्षमतामा थोरै मात्र सिमितता हुँदा पनि दृष्टि क्षमता पनि सिमा र श्रवण क्षमतामा पनि सिमा हुने भएकाले धेरै चुनौतीहरू अनुभव हुनसक्छ ।

विश्व श्रवणदृष्टि विहीन महासंघले श्रवणदृष्टि विहीनतालाई एक ज्ञानेन्द्रियले अर्को ज्ञानेन्द्रियको अशक्ततालाई परिपुरण गर्न गार्हो हुनेसम्मको गम्भीर दृष्टि र श्रवण सम्बन्धी अशक्तताको मिश्रित स्वरूप भनी परिभाषित गरेको छ । त्यसैले श्रवणदृष्टि विहीनता छुट्टै प्रकारको अपाङ्गता हो । यद्यपि यसको कानुनी परिभाषा भने देश देश अनुसार फरक पर्न सक्छ ।

श्रवणदृष्टि विहीन अपाङ्गताले कसलाई असर गर्छ ?

श्रवणदृष्टि विहीन अपाङ्गताले बालबालिका, युवा लगायत सबै उमेरका मानिसलाई असर गर्दछ ।

उमेर बढेसँगै प्राकृतिक रूपमै हाम्रो दृष्टि क्षमता र श्रवण क्षमतामा ह्रास आउने भएकाले वृद्ध उमेरका व्यक्तिमा यो बढी देखिन्छ ।

संसारको जनसंख्याको ०.२ प्रतिशत व्यक्तिहरू गम्भीर श्रवणदृष्टि विहीन रहेको अनुसन्धानले देखाएको छ । थप २ प्रतिशत व्यक्तिहरू सामान्य स्वरूपका श्रवणदृष्टि विहीन अवस्थामा बाँचिरहेका छन् ।*

यसको अर्थ झण्डै १६ करोड मानिसहरू श्रवणदृष्टि विहीन अवस्थामा बाँचिरहेका छन् ।

* विश्व श्रवणदृष्टि विहीन महासंघ(२०२३) । श्रवणदृष्टि विहीन व्यक्तिहरूको अवस्थाबारे दोस्रो अन्तर्राष्ट्रिय प्रतिवेदनः श्रवणदृष्टि विहीन व्यक्तिहरूको समावेशिताबारे असल अभ्यास र सिफारिसहरू, सन् २०२३ मार्च

श्रवणदृष्टि विहीनका प्रकारहरू

श्रवणदृष्टि विहीनका प्रमुख दुई प्रकारहरू छन् ।

जन्मजात श्रवणदृष्टि विहीनता

जन्मजात श्रवणदृष्टि विहीनता भनेको जन्मे देखि नै दृष्टि र श्रवण सम्बन्धी अपाङ्गता भएको, वा जन्मेको दुई वर्ष भित्रमा श्रवणदृष्टि विहीन भनी पत्ता लागेको अवस्था हो ।

यो गर्भावस्थामा भएको कुनै सङ्क्रमणको कारणले, समय नपुगी जन्मेको कारणले, जन्मेको समयमा पुगेको आघात(भौतिक चोटपटक) र दुर्लभ वंशाणुगत अवस्था (बाबुआमा मध्ये एकबाट वंशाणुगत तरिकाले प्राप्त अवस्था)को कारणले हुने गर्दछ ।

पछि विकसित भएको श्रवणदृष्टि विहीनता

पछि विकसित भएको श्रवणदृष्टि विहीनता भन्नाले जीवनमा पछि दृष्टि र श्रवण क्षमतामा भएको ह्रास भन्ने बुझिन्छ । रोग, दुर्घटना वा उमेरको कारण कुनै पनि व्यक्ति कुनै पनि उमेरमा श्रवणदृष्टि विहीन बन्न सक्छन् ।

कहिलेकाहीँ, कुनै व्यक्ति जन्मिँदा बहिरा मात्रै वा दृष्टिविहिन मात्रै भई जन्मने, र उमेर बढेसँगै उसको अर्को ज्ञानेन्द्रियको क्षमता पनि परिवर्तन हुँदै वा ह्रास हुँदै जान सक्छ ।

श्रवणदृष्टि विहीनताका अन्य नामहरू

श्रवणदृष्टि विहीनलाई देहायका नामबाट पनि चिनिन्छः

  • दुई-इन्द्रिय अपाङ्गता
  • बहुइन्द्रिय अपाङ्गता

धेरै मानिसहरूले श्रवणदृष्टि विहीनतालाई यी नामले पनि सम्बोधन गर्दछन् ।

कतिपय व्यक्तिले दृष्टि र श्रवण क्षमताको अलि बढी गम्भीर ह्रासलाई जनाउन मात्र ”श्रवणदृष्टि विहीन” शब्दावलीको प्रयोग गर्दछन् ।

अन्य व्यक्तिहरूले भने “दुई-इन्द्रिय अपाङ्गता” ले श्रवणदृष्टि विहीनताको अनुभूतिलाई अझै स्पष्ट रूपले व्याख्या गर्छ भन्ने ठान्ने भएकाले “दुई-इन्द्रिय अपाङ्गता” भन्न रुचाउँछन् ।

अरुले भने “बहुइन्द्रिय अपाङ्गता” अझै स्पष्ट हो भन्ने ठान्छन् ।

कसैको कान र आँखाले कसरी काम गर्छ भन्ने मात्र नभई कान र आँखाबाट प्राप्त सूचना मस्तीष्कले कसरी प्रशोधन गर्छ भन्ने विषयको व्याख्या गर्न यसो भनिएको हुनसक्छ । स्पर्श, स्वाद र गन्ध जस्ता अन्य ज्ञानेन्द्रियलाई पनि असर परेको हुनसक्छ ।

श्रवणदृष्टि विहीनता के कारणले हुन्छ ?

जन्मजात श्रवणदृष्टि विहीनता र पछि विकास हुने श्रवणदृष्टि विहीनताका धेरै कारण छन् ।

जन्मजात श्रवणदृष्टि विहीनताका कारणहरू

जन्मजात श्रवणदृष्टि विहीनताका सम्भावित कारणहरू यस प्रकार हुनसक्छन् :

  • समयअगावै हुने जन्मसँग जोडिएका समस्याहरू – गर्भ रहेको ३७ महिनाभन्दा अगावै हुने जन्म
  • गर्भ भित्रै शिशुमा हुने सङ्क्रमण, जस्तै रुबेला (जर्मन दादुरा), टोक्सोप्लास्मोसिस वा साइटोमेगालोभाइरस (सीएमभी)
  • गर्भावस्था र जन्मको अवस्थामा भएका जटिलताहरू – आघात र पोषणमा कमी लगायत
  • वंशाणुगत अवस्था, जस्तै चार्ज सिण्ड्रोम वा डाउन सिण्ड्रोम
  • मस्तिष्क पक्षघात – खासगरि चाल र समन्वयमा असर पुर्याउने मस्तिष्क र स्नायू प्रणालीको समस्या ।
  • फिटल अल्कोहल सिण्ड्रोम – गर्भावस्थामा आमाले रक्सी पिउँदा आउने स्वास्थ्य समस्या ।

पछि विकास हुने श्रवणदृष्टि विहीनताका कारणहरू

पछि विकास हुने श्रवणदृष्टि विहीनका सम्भावित कारणहरू यस प्रकार छन् :

  • उमेरको कारणले श्रवण क्षमतामा हुने ह्रास ।
  • अशर सिण्ड्रोम – सुनाइ, दृष्टि र सन्तुलनलाई असर गर्ने एक वंशाणुगत अवस्था ।
  • उमेरको कारणले हुने आँखाको समस्या, जस्तै उमेरको कारणले हुने मकुलार डिजेनेरेशन, मोतिबिन्दु र  जलविन्दु  ।
  • मधुमेहसँग सम्बन्धित रेटिनोपेथी – रगतमा चिनीको मात्रा धेरै हुँदा आँखाको पछाडि हुने कोषिकाहरूमा क्षति पुग्छ ।
  • मेनिन्जाइटिस, इन्सेफलाइटिस, पक्षघात वा टाउकोमा गम्भीर चोट आदिको कारण हुने मस्तिष्क क्षय ।
  • सेरेब्रल मलेरिया

श्रवणदृष्टि विहीनताको लक्षण पहिचान

श्रवण शक्तिमा क्षय भएको केही साझा लक्षणहरू यस प्रकार छन्:

  • कसैले पछाडिबाट बोल्दा नसुन्नु ।
  • आफू बसेको स्थानमा कोही आएको नसुनेर तर्सिनु ।
  • टेलिभिजन, रेडियो वा मोबाइल फोनको भोल्युम वा आवाज ठुलो बनाउन पर्नु ।
  • आफूसँग बोलेका मानिसलाई जवाफ दिन ढिलाई हुनु ।

दृष्टि क्षमता ह्रास भएका व्यक्तिमा देखिने लक्षणहरु यस प्रकार छन् :

  • कम प्रकाश वा धेरै प्रकाश भएको ठाउँमा हेर्न गार्हो हुनु ।
  • आफूले चिनेकै व्यक्तिलाई पनि, खासगरि अनपेक्षित परिवेशमा, नचिन्नु ।
  • वस्तुहरू खोज्न सामान्य भन्दा धेरै छुवाइमा भर पर्नु ।
  • किताब, पत्रपत्रिका वा मोबाइल फोन अनुहारको धेरै नजिक राख्नपर्नु, वा टेलिभिजनको नजिक बस्न पर्नु ।

तपाईंलाई पहिले देखि नै श्रवण सिमितता छ वा तपाईं बहिरा हुनुहुन्छ भने, वा हियरिङ्ग एड लगाइरहनुभएको छ वा साङ्केतिक भाषाको प्रयोग गरिरहनुभएको छ भने, आफ्नो आँखाको हेरविचार गर्नुहोस् । आँखाको शक्ति पनि गुम्दै गएको छ कि भनी लक्षणहरू  प्रति सचेत रहनुहोस् र आँखा विशेषज्ञसँग आँखा जचाउँनुहोस् । सम्भव भएसम्म,  नियमित रूपमै आँखा जँचाउनुपर्दछ ।

तपाईंलाई पहिले देखि नै दृष्टि सिमितता छ वा चश्मा लगाउनुहुन्छ, सेतो छडी प्रयोग गर्नुहुन्छ वाजलविन्दु  वा मोतिबिन्दु जस्तो समस्या छ भने, आफ्नो श्रवण शक्तिको ख्याल गर्नुहोस् । श्रवण शक्ति पनि गुम्दै छ कि भनी लक्षणहरू प्रति सचेत रहनुहोस् र अडियोलोजिष्टसँग श्रवण शक्तिको जाँच गराउनुहोस् । सम्भव भएसम्म नियमित रूपमा जचाउँनुपर्दछ । माथि उल्लेख गरिएका कुनै पनि लक्षण देखिएमा आफ्नो स्थानीय चिकित्सक वा स्वास्थ्यकर्मीलाई जतिसक्दो छिटो सम्पर्क गर्नुहोस् ।

श्रवणदृष्टि विहीनता जति चाँडै पहिचान भयो, त्यति नै चाँडै उपचार सम्भव भए उपचार सुरु गर्न सकिन्छ, वा यस अवस्थाको व्यवस्थापन सुरु गर्न सकिन्छ । खासगरि यो विषय शिशुहरू र बालबालिकाको लागि बढी उपयुक्त हुन्छ, किनभने उनीहरू हुर्कँदै बढ्दै छन् र आफ्नो सञ्चार सिप सिक्दै छन् र अन्य वृद्धी विकासका कोसेढुङ्गाहरू प्राप्त गर्दैछन् ।

यो सूचना श्रवणदृष्टि विहीन लगायत जटिल अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोग गर्ने संयुक्त अधिराज्य (युके)मा अवस्थित अपाङ्गता सम्बन्धी एक प्रमुख सहयोगि संस्था सेन्सले प्रदान गरेको हो ।

यो सामग्री अन्तर्राष्ट्रिय प्रयोगकर्ताको लागि सम्पादन गरिएको छ (२०२४)।

यो उपयोगी भयो कि भएन ?

यो उपयोगी भयो कि भएन ?

साझेदारी गर्नुहोस्


मिल्दा जुल्दा स्रोत सामग्री

श्रवण दृष्टिविहीन अपाङ्गता भएका बालबालिकाहरुका लागि संगीत र चलायमानताः एक व्यवहारिक मार्गदर्शन

यस मार्गदर्शनले हेरचाहकर्ताहरू र शिक्षकहरूलाई संगीत र आन्दोलनको प्रयोग गरी बहिरे-अन्धापन भएका बच्चाहरूको सिकाइ, सञ्चार, र समावेशितालाई समर्थन गर्ने व्यावहारिक उपायहरू प्रस्ताव गर्दछ।

श्रवण दृष्टिविहिन अपाङ्गता भएका बालबालिकाहरुका लागि चलायमानता तथा सुझबुझजन्य खेलहरुः अभिभावक तथा हेरचाहकर्ताका लागि व्यवहारिक मार्गदर्शन

यो स्रोतले बधिरअन्ध बच्चाहरूमा शारीरिक, संवेदी, र सामाजिक विकासलाई समर्थन गर्न रोलिङ, संवेदी ट्रेहरू, र बल खेल जस्ता खेल र गतिविधिहरू प्रयोग गर्ने बारे चरण-दर-चरण मार्गदर्शन प्रदान गर्दछ।

श्रवणदृष्टिविहीन अपाङ्गता भएका विद्यार्थीहरूका लागिउपयुक्त रुपमा अनुकुलित कक्षाकोठा

यो स्रोतले बहिराङ्ग सुन्न नसक्ने र देख्न नसक्ने बालबालिकाका लागि कक्षामा अनुकूलन कसरी गर्ने भन्नेमा मार्गदर्शन प्रदान गर्दछ।