प्रकाशित मिति
फ्रेवुअरी 2025
सिर्जना
Sense UK
स्वीकारोक्ती
Sense International

बालबालिका जन्मेको पहिलो वर्ष बाबुआमाको लागि धेरै सिक्ने वर्ष हो । तपाईंको बालबालिका श्रवणदृष्टि विहीन  छ भने, बहुइन्द्रिय अपाङ्गता (मल्टी सेन्सशरी इम्पेयरमेण्ट)  र गम्भिर अपाङ्गता छ भने यो सिकाइको क्रम झनै तीव्र हुन्छ ।

यहाँ तपाईंले गम्भिर अपाङ्गता भएका बालबालिकाका बाबुआमा वा स्याहारकर्ताले धेरै सोध्ने केही प्रश्नहरूको जवाफ पाउनुहुनेछ ।

यो पृष्ठमा हामी देहाय बमोजिमका प्रश्नहरूको उत्तर खोज्नेछौँ।:

तपाईं श्रवणदृष्टि विहीन  बालबालिका, बहुइन्द्रिय अपाङ्गता (मल्टी सेन्सशरी इम्पेयरमेण्ट)  र गम्भिर अपाङ्गता भएको बालबालिकाको  अभिभावक हुनुहुन्छ भने, यी अनुभव र चुनौतीले तपाईंले थकित महशुस गर्ने सम्भावना हुन्छ ।

यस्तो समयमा, तपाईं एक्लै हुनुहुन्न र तपाईंलाई यो यात्रा तय गर्न सघाउने स्रोतसामग्रीहरू उपलब्ध छन् भन्ने बुझ्नुपर्छ । तपाईंलाई स्थानीय समुदायमा, स्थानीय स्वास्थ्यकर्मीहरू र संघसंस्थाहरू मार्फत् उपलब्ध हुने सहयोगहरूको बारेमा खोजी गर्नुहोस् ।

आफ्नो अनुभव बुझ्ने र समानुभति दर्शाउन सक्ने अन्य अभिभावकसँग कुरा गरेर पनि सूचनाहरू प्राप्त गर्न सकिन्छ, जसले एक्लोपना र दोषको अनुभति कमगर्न मदत गर्छ ।

यस्तै अनुभव भएका अन्य अभिभावकलाई सम्पर्क गर्नुहोस् र सहयोग खोज्नुहोस् । सबैको सहकार्य बाट तपाईंले आफ्नो बालबालिकाको विकास र प्रगतिकाबारे सोच्न सक्नुहुन्छ ।

मेरो बालबालिकामा अपाङ्गता छ भने, म उसँग सञ्चार गर्न सक्छु कि सक्दिन ?

यसको उत्तर पक्कै पनि सकिन्छ भन्ने हो । तपाईंले पक्कै पनि आफ्नो बालबालिकासँग सञ्चार गर्न सक्नुहुनेछ ।

सञ्चार गर्ने र सम्बन्ध विकासगर्ने धेरै माध्यमहरू हुन्छन् । बोलेर, साङ्केतिक भाषाको प्रयोग गरेर, छोएर, हाउभाउ देखाएर, ध्वनी प्रयोग गरेर, चित्र देखाएर, वस्तुहरू प्रयोग गरेर, र भौतिक वा विद्युतीय सहयोगी सामग्री प्रयोग गरेर तपाईंले अपाङ्गता भएको आफ्नो बालबालिकासँग सञ्चार गर्न सक्नुहुन्छ ।

तपाईंको बालबालिकालाई जुन विधि प्रभावकारी हुन्छ त्यही प्रयोग गर्नुहोस् । सम्भवतः माथि दिइएका विभिन्न विधिहरूको मिश्रणले सञ्चार गर्न सकिन्छ होला ।

कहिलेकाहीं तपाईंले आफ्नो बालबालिकासँग सञ्चार गर्ने विभिन्न विधि सिक्नको लागि विशेषज्ञसँग सल्लाह गर्नुपर्ने पनि हुन सक्छ ।

मेरो बालबालिकालाई अपाङ्गता छ भने, उसले आफू वरिपरिको वातावरणबारे कसरी जानकारी प्राप्त गर्न सक्छ ?

श्रवणदृष्टि विहीन , बहुइन्द्रिय  अपाङ्गता वा जटिल अपाङ्गता भएका बालबालिकाले आफू वरिपरिको वातावरणबारे थोरैमात्र जानकारी पाउँछन् । प्राप्त सूचनामा पनि एकरूपता हुँदैन  र अस्पष्ट हुनसक्छ ।

यसको अर्थ के हुन्छ भने बालबालिकालहरूलाई अहिले के भैरहेको छ र अब के हुन्छ भन्ने बुझाउन गरिने क्रियाकलापहरू सधैँ एकनासको हुनुपर्दछ ।

तपाईंको बालबालिकाको लागि आफू वरिपरिको वातावरणमा के भैरहेको छ भन्ने राम्ररी बुझाउन तपाईंले देहाय बमोजिम गर्न सक्नुहुन्छः

बालबालिकालाई अहिले के भैरहेछ र अब के हुन्छ भन्ने तरिकाहरु सिक्नुहोस् ।

अहिले के भैरहेछ र अब के हुन्छ भन्ने बारे बताउँदा उनीहरूले बुझ्ने गरि बताउनुहोस् ।

  • कुनै क्रियाकलापको सुरु र अन्त्यको जनाउ दिन, साथै त्यसपछि हुने क्रियाकलापको लागि तयार गर्न सङ्केतहरू प्रयोग गर्न सकिन्छ ।
  • उदाहरणको लागि, तपाईं बाहिर जाँदै छु भन्ने सन्देश दिन सधैँ एउटै गीत गाउन सक्नुहुन्छ । त्यस्तै, नुहाउनु भन्दा अघि एउटै पुछ्ने रुमाल देखाउन वा छूवाउन सकिन्छ ।
  • कुनै व्यक्ति वा कुनै क्रियाकलाप तर्फ सङ्केत दिनको लागि प्रयोग गरिने वस्तुलाई सन्दर्भ वस्तु भनिन्छ ।

निश्चित कार्यतालिका र समयतालिका विकास गर्नुहोस्

  • उदाहरणको लागि, बालबालिकालाई कपडा लगाइदिँदा सधैँ एउटै तरिकाले लगाइदिने, खानाको लागि तयार गराउँदा सधैँ एउटै तरिकाले तयार गराइदिने वा बाहिर कतै जाने समयमाबाइ बाइ गर्दा सधैँ एउटै तरिकाले गर्ने ।
  • सम्भव भएसम्म, सधैँ एउटै तरिका प्रयोग गर्नुहोस् । जस्तै, एउटै स्थानको प्रयोग गर्ने, एउटै व्यक्तिले गर्ने र एउटै वस्तु प्रयोग गर्दा पहिले देखि भैरहेकै क्रियाकलाप हुन गैरहेको छ भन्ने सङ्केत मिल्छ ।
  • तर परिवारमा बस्दा सधैँ एउटै तरिका अपनाउन गार्हो पनि हुन सक्छ । कहिलेकाहीं सम्भव नहुन पनि सक्छ ! तर एउटै तरिका अपनाउँदा तपाईंको बालबालिकालाई के भैरहेको छ भनी बुझ्न सजिलो हुन्छ ।

भौतिक वातावरणको बारेमा सोच्नुहोस्

  • कुनै कोठा वा कुनै स्थानको साजसज्जा सधैँ एउटै राख्दा सजिलो हुन्छ । कतिपय सामानहरू सधैँ एउटै ठाउँमा राख्नु उपयुक्त हुन्छ ।
  • तपाईंको बालबालिकाले आफ्नो वरिपरिको वातावरणमा सजिलै हिडडुल गर्न सक्छन् भने उनीहरूलाई सुरक्षित तरिकाले आफू वरिपरिको वातावरणको अध्ययन गर्ने आत्म विश्वास बढ्छ र सिक्न सजिलो हुन्छ ।
  • तर, परिवारका अन्य सदस्यले पनि सो स्थान प्रयोग गर्नु पर्ने हुँदा सधैँ यो सम्भव नहुन पनि सक्छ । दाजुभाइ र दिदी बहिनीले पनि आफ्नै क्रियाकलाप गर्नुपर्ने र खेल्नुपर्ने हुनसक्छ !

तपाईंको बालबालिकालाई उनीहरूले प्रयोग गर्न सक्ने ज्ञानेन्द्रियको प्रयोग गर्न प्रोत्साहित गर्नुहोस्

  • तपाईंको बालबालिकालाई छोएर, सुँघेर र स्वाद लिएर वस्तुको पहिचान गर्न प्रोत्साहित गर्नुहोस् । साथै उनीहरूले दृश्य र श्रवणको ज्ञानेन्द्रियको जति प्रयोग गर्न सक्छन् त्यति प्रयोग गर्न प्रोत्साहित गर्नुहोस् ।
  • उदाहरणको लागि, कुनै पेय पदार्थ तयार गर्दै गर्दा तपाईंले आफ्नो हातमाथि बालबालिकाको हात राख्न सक्नुहुन्छ । त्यसैगरि बालबालिकाले खाना खाँदा वा बुरुषमा मञ्जन राख्दा पनि तपाईंले आफ्नो हातको माथि बालबालिकाको हात राख्न सक्नुहुन्छ ।
  • त्यसैगरि खुट्टाले पनि विभिन्न वस्तुहरू स्पर्श गरि त्यसबारे बुझ्न प्रोत्साहित गर्नुहोस् ।

समय दिनुहोस्

  • श्रवणदृष्टि विहीन  बालबालिका, बहुइन्द्रिय अपाङ्गता भएका बालबालिका वा जटिल प्रकारको अपाङ्गता भएका बालबालिकाले आफूलाई सहज हुने सूचना सकभर धेरै लिनुपर्छ । यसको लागि धेरै समय र धैर्यता चाहिन्छ ।
  • कार्य समयतालिका बनाइ सकेपछि पनि तपाईंको बालबालिकाले सम्बन्धित क्रियाकलापका प्रत्येक चरणहरू प्रष्ट बुझ्नुपर्दछ ।
  • यसलाई निरन्तरता दिन गार्हो हुनसक्छ । तर दैनिक क्रियाकलापको लागि तपाईंले बढी समय दिन थाल्नुभयो भने उनीहरूलाई ती क्रियाकलाप गर्न सजिलो हुन थाल्छ ।

म मेरो बालबालिकासँग कसरी खेल्न सक्छु ?

तपाईंको बालबालिकामा जतिसुकै जटिल अपाङ्गता भए तापनि उनीहरूसँग खेल्ने थुप्रै विकल्प हुन्छन् ।

तपाईंले बालबालिकासँग सम्बन्ध सुमधुर राख्न, सञ्चार गर्न सिक्न र खेल्दाखेरि रमाइलो गरि खेल्नको लागि सम्झिनुपर्ने केही विषयहरू यस प्रकार छन् ।

  • बालबालिकालाई के रमाइलो लाग्छ र कसरी खेल्न चाहान्छन् उनीहरुलाई नै नेतृत्व गर्न दिनुहोस् ।
  • विभिन्न सिकाइका वा खेलकुदका कृयाकलाप गर्दा बालबालिकालाई नै छनौट गर्ने अधिकार दिनुहोस् । जस्तै रातो अथवा निलो रङ्ग लगाउने अथवा ठुलो वा सानो बल खेल्ने ।
  • खेल्ने समयलाई उनीहरूको इन्द्रियहरूका लागि रोचक बनाउनुहोस् – बालबालिकाले नयाँ बनावट, आवाज वा दृश्यहरू रमाइलो र सजिलो तरिकाले अन्वेषण गर्न सक्ने गतिविधिहरू प्रयोग गर्नुहोस्। के गर्नुपर्छ भनेर नबताउनुहोस्; उनीहरूलाई आफैं खोज्न र अनुभवको मजा लिन दिनुहोस्।
  • उनीहरूलाई निर्देशन नदिनुहोस् – बालबालिकाहरू संवेदनात्मक खेलमार्फत अन्वेषण गर्न रमाउँछन्।
  • खेलौनाहरूलाई अनुकूलन गर्नुहोस् र नयाँ नयाँ खेलौना बनाउनुहोस् – बजारमा पाइने सामान्य खेलौनाहरू सधैँ पहुँचयुक्त वा सस्तो नहुन सक्छन् । तर तपाईंले आफ्नै छुट्टै खेलौना बनाउन सक्नुहुन्छ वा भएका खेलौनालाई आफ्नो बालबालिकाको आवश्यकता सुहाउँदो हुने गरि अनुकुलन गर्न सक्नुहुन्छ । 

मेरो बालबालिकामा अपाङ्गता छ भने मैले उसलाई सुत्न कसरी सहयोग गर्न सक्छु ?

तपाईंको बालबालिकालाई सुत्ने र उठ्ने नियमित कार्यतालिका कायम गर्नको लागि केही उपायहरू तल दिइएका छन् ।

दैनिक समय तालिका

  • तपाईंको बालबालिकाले बुझ्ने गरि प्रत्येक दिन पालना गर्ने नियमित कार्य समयतालिका बनाउनुहोस् ।
  • तपाईंको बालबालिकालाई प्रत्येक दिन व्यायाम गर्ने र आराम गर्ने अवसरहरू प्रदान गर्नुहोस् ।

दिनको समापनको लागि कार्यतालिका

  • हरेक दिनको अन्त्य रमाइलो एवम मनोरञ्जनात्मक हुने र आरामदायि हुने कृयाकलापहरु बनाउनुहोस् ।
  • तपाईंको बालबालिकालाई आराम गर्न र सुत्नको लागि सुरक्षित र छुट्टै ठाँउको व्यवस्था गर्नुहोस् । ।
  • यदि तपाईं शान्त र खुशी हुनुहुन्छ भने, तपाईंको बालबालिकाले पनि त्यसलाई महसुस गरेर त्यस्तै प्रतिक्रिया दिनेछ।

याद गर्नुहोस् :

  • सानो उमेरका बालबालिकालाई कुन बेला सुत्ने र उठ्ने भन्ने नियमित तालिका बनाउन समय लाग्न सक्छ ।

सानो उमेरका बालबालिकालाई कुन बेला सुत्ने र उठ्ने भन्ने नियमित तालिका बनाउन समय लाग्न सक्छ ।

  • तपाईंको बालबालिका दृष्टि विहीन हुनुहुन्छ भने उहाँलाई दिन र रातको भिन्नता छुट्याउन अलि बढी समय लाग्न सक्छ ।
  • तपाईंको बालबालिकाले हुर्कदै  सुरुवातका केही वर्षहरुमा दिनमा अझै विश्राम वा सुत्न आवश्यक पर्न सक्छ, जसले राति सुत्नमा समस्या उत्पन्न गर्न सक्छ।
  • विस्तारै समय लिएर, नियमित अभ्यास गर्ने, धैर्यता राख्ने र निरन्तर कोसिस जारी राख्ने गर्नाले विस्तारै सुधार हुँदै जान्छ ।
  • विस्तारै देखिने साना साना  सुधारका लक्षणहरू र सकारात्मक कदमहरुबाट उत्प्रेरणा लिनुहोस्

मेरो बालबालिकामा अपाङ्गता छ भने उसलाई खाना खाने क्रममा मैले कसरी सहयोग गर्न सक्छु ?

तपाईंको बालबालिकालाई खाना खान किन गार्हो हुन्छ

तपाईंको बालबालिका श्रवणदृष्टि विहीन , बहुइन्द्रिय अपाङ्गता छ वा जटिल अपाङ्गता छ र खाना खान गार्हो भएको छ भने देहाय बमोजिम किन यसो भएको हो भनी बुझ्नु पर्छ ।

यसमा निम्न अनुसारका स्वास्थ्य सम्बन्धी समस्या हुन सक्छन् ।

  • तपाईंको बालबालिकालाई निल्ने क्रियामा वा पाचन प्रणालीमा शारीरिक समस्या भएको हुनसक्छ ।
  • तपाईंको बालबालिकालाई निश्चित लक्षण वा शारीरिक अवस्था छ भने सो अवस्थाले खाना खान अप्ठ्यारो बनाउने निश्चित शारीरिक समस्याको बारेमा जान्न तपाईंको बालबालिकालाई हेरिरहेका स्वास्थ्यकर्मीसँग परामर्श गर्नुहोस् ।
  • यदि तपाईंको बालबालिकाले पीडादायक, असहज, वा डर लाग्दा चिकित्सा उपचारहरू भोगेका छन् भने, उनीहरूले ती अनुभवहरूलाई खानेकुरासँग जोड्न सक्दछन्, यद्यपि ती बीचमा कुनै सम्बन्ध छैन।
  • यदि तपाईंको बालबालिकालाई पेट वा नाकबाट ट्युब मार्फत खाना खुवाइन्छ र यो धेरै समयसम्म चल्छ भने, उनलाई चुस्ने र सामान्य रूपमा खाने तरिका सिक्न आवश्यक पर्न सक्छ।
  • तपाईंको बालबालिकालाई शारीरिक अपाङ्गताको कारण आफैं बस्न, मुखसम्म हात पुर्‍याउन वा हातको चाल नियन्त्रण गर्न कठिन हुन सक्छ।

अन्य बालबालिकाले जस्तो खानासँग खेल्ने र खाना खान अभ्यास गर्ने अवसर नपाएकाले पनि तपाईंको बालबालिकाले खाना खाँदा गार्हो मानेको हुनसक्छ । यो अभ्यास र अवसर नपाएकाले पनि खाना खाने प्रक्रिया र खाना खाने समयमा अलमलिने वा डराउने गरेको हुनसक्छ ।

तपाईंले आफ्नो बालबालिकालाई खाना खान सघाउन अपनाउन सक्ने उपायहरू

तपाईंले आफ्नो बालबालिकालाई खाना खान सहयोग गर्ने केही उपायहरू यस प्रकार छन् ।

सुरु गर्नु भन्दा अघि

  • समस्याको कारण पत्ता लगाउने प्रयास गर्नुहोस्। जसले के गर्ने भन्ने निर्णय गर्न मदत गर्छ र तपाईंको बालबालिकाले विशेष व्यवहार गर्दा शान्त रूपमा प्रतिक्रिया दिन सहयोग गर्छ।
  • खाना खाने सम्बन्धी समस्या अत्यन्त विस्तारै विकास हुने भएकाले यसको सुधार हुन पनि समय लाग्छ भन्ने सम्झनुहोस् ।
  • यदि तपाईं आफ्नो बालबालिकालाई आफैं खान सिकाउँदै हुनुहुन्छ भने, उनीहरूको लागि सजिलो हुने उपकरण प्रयोग गर्नुहोस्। उनीहरूले हातले पनि खान सक्छन् वा ठूलो ह्यान्डल भएको विशेष चम्चा जस्तो सहयोगी उपकरण प्रयोग गर्न सक्छन्।

सहज हुनुहोस्

  • तपाईं र तपाईंको बालबालिका दुवैजना खाना खानको लागि सजिलो अवस्थामा बस्नुहोस् ।
  • तपाईंको बालबालिकालाई के हुन लागेको हो जानकारी दिनुहोस् ।
  • खाना खाने समय हुन लाग्यो भनी जानकारी दिन सधैँ एउटै सङ्केत प्रयोग गर्नुहोस् । उदाहरणको लागि, थाल, कचौरा वा चम्चाको सङ्केत ।

तपाईंको बालबालिकालाई खानाको गन्ध लिन र अनुभूति गर्न समय दिनुहोस्

  • यदि तपाईं आफैंले बालबालिकालाई खुवाउँदै हुनुहुन्छ भने, अर्को गास आउँदैछ है भनी जानकारी दिन सधैँ एउटै सङ्केत प्रयोग गर्नुहोस् । उदाहरणको लागि, हातले एकचोटि छुने ।

बालबालिकालाई खाना छुन प्रोत्साहित गर्नुहोस्

  • बालबालिकालाई खाना छुन प्रोत्साहित गर्नुहोस् – त्यसपछि उनीहरूले आफ्नो हात आफ्नो मुखमा लैजान सक्छन् ।
  • नरम र गुलियो खाना जस्तै दही, केरा वा मेवा खेलाउँदै बालबालिकालाई त्यसको गन्ध सुँघ्न, छुन र स्वाद लिन दिनुहोस्। यसले उनीहरूलाई खानाको दबाब बिना नै खाना चिन्न मदत गर्छ।

तपाईंको बालबालिकालाई छान्ने मौका दिनुहोस् र स्याबासी दिनुहोस्

  • नरम खानेकुराका साना साना टुक्रा तपाईंको बालबालिकाको तल्लो ओठ(मुखमा होइन)मा राख्ने प्रयास गर्नुहोस् । यसो गर्दा बालबालिकाले सो खानेकुरा खाने कि नखाने भन्ने निर्णय लिन पाउँछन् ।
  • कुनै सकारात्मक क्रिया गर्दा बालबालिकालाई स्याबासी दिनुहोस् । सबै बालबालिकालाई स्याबासी मन पर्छ । स्याबासी पाएको व्यवहार दोहोरिने सम्भावना बढी हुन्छ ।
  • तपाईंको बालबालिकाले कुनै कुरा खान चाहेन भने वा कुनै कुरा गर्न चाहेन भने त्यसलाई स्वीकार गर्नुहोस् । अप्ठ्यारो भए पनि शान्त बस्ने प्रयास गर्नुहोस् । यसले तपाईंको बालबालिकालाई उसले आफैँले नियन्त्रण लिएको अनुभूति गराउँछ र नकारात्मक व्यवहार विकास हुने सम्भावना घटाउँछ ।

मेरो बालबालिकामा अपाङ्गता छ भने उसलाई हातखुट्टा वा मुख धुन, लुगा लगाउन र शौचालय जान मैले कसरी सहयोग गर्न सक्छु ?

तपाईंको बालबालिकालाई आफैँ हातखुट्टा वा मुख धुन, लुगा लगाउन र शौचालय जान सहयोग पुर्याउन सक्ने केही उपायहरू यस प्रकार छन् :

  • प्रत्येक दिनको लागि बालबालिकाले बुझ्न सक्ने र पूर्वानुमान गर्न सक्ने गरि दैनिक कार्य समयतालिका विकास गर्नुहोस् ।
  • अब के हुँदैछ भनी आफ्नो बालबालिकालाई सङ्केत दिनुहोस् ।
  • उदाहरणको लागि, लुगा लगाउनाका चरणहरूबारे छोएर सङ्केत गर्नुहोस् साथसाथै “यो लुगा तिम्रो टाउकोबाट छिर्यो” भन्नुहोस् वा कुनै गीत गाउनुहोस् ।
  • प्रत्येक चरणमा तपाईंको बालबालिकालाई प्रतिक्रिया दिनको लागि पर्याप्त समय दिनुहोस् ।
  • अन्य सबै बालबालिकाहरूले जस्तै तपाईंको बालबालिकाले पनि लामो समयसम्म दिसापिसाब रोक्न सक्ने र दिसा आयो वा पिसाब आयो भन्ने थाहा पाउन सक्ने भएपछि, शौचालयमा दिसापिसाब गराउने तालीम सुरु गर्नुहोस् ।
  • श्रवणदृष्टि विहीन  भएका, बहु अपाङ्गता भएका र जटिल अपाङ्गता भएका कतिपय बालबालिकाहरू बन्द स्थानमा असुरक्षित महशुस गर्न सक्छन् र टुक्रुक्क बस्न वा टोइलेट गर्ने स्थानमा सहयोग विना बस्न मन नपराउन सक्छन् । तपाईंको बालबालिकाको खुट्टा भुइँमा वा कुनै टेकोमा टेकिएको सुनिश्चित गर्नुहोस् वा उसलाई कसैले  समाइदिनुहोस् । थप वा अतिरिक्त अपाङ्गता भएका बालबालिकालाई समाउने डण्डी भएको पहुँचयुक्त कमोड टोइलेट सजिलो हुनसक्छ ।
  • बालबालिकाले दिसापिसाब आएको थाहा नपाएको जस्तो लागेमा, उनीहरूले सामान्यतयाः कतिखेर दिसापिसाब गरिरहेका छन् भनी समय टिपेर राख्नुहोस् । त्यसपछि तपाईंले शौचालय प्रयोग गर्ने तालीमको लागि सोही अनुसारको समयतालिका र योजना बनाउन सक्नुहुन्छ ।

याद गर्नुहोस्

  • श्रवणदृष्टि विहीन , बहुइन्द्रिय अपाङ्गता वा जटिल अपाङ्गता भएका बालबालिकालाई शौचालयसम्बन्धी तालीमको लागि अलि बढी समय लाग्न सक्छ । कतिपय बालबालिकालाई अपाङ्गताको कारण दिसा वा पिसाब रोक्न गार्हो हुन सक्छ ।
  • शौचालय वा चर्पीको गन्ध अन्य कोठाको गन्ध भन्दा फरक हुन्छ । कहिलेकाहीं उनीहरूले त्यहाँको आवाज पनि फरक सुन्न सक्छन् । तपाईंको बालबालिकालाई यो रमाइलो लाग्न पनि सक्छ र विभिन्न ध्वनीहरूसँग खेल्न पनि सक्छन्, वा उनीहरू यसबाट डराउन पनि सक्छन् । यदि उनीहरू बाथरूममा डराएको जस्तो लाग्यो भने, उनीहरूलाई सो स्थान मैत्री र सुरक्षित बनाउनको लागि बास्ना आउने साबुन प्रयोग गर्नुहोस् वा गीत गाउनुहोस् ।
  • नुहाउन  डराउने बालबालिकालाई नुहाउनको लागि सानो भाँडो वा बाल्टी वा बाटा प्रयोग गर्नु उपयुक्त हुनसक्छ किनभने यसो गर्दा उनीहरूले भाँडो वा बाटा वा बाल्टीको डील छाम्न सक्छन् । अथवा, उनीहरू तपाईंसँगै नुहाउन चाहन सक्छन् । उभिएर धाराबाट वा शावरबाट नुहाउने गरिएको छ भने, तपाईंको बालबालिकालाई कतै बसेर सुरक्षित तरिकाले नुहाउँदा अझै सजिलो लाग्न सक्छ ।

समय लिनुहोस्

  • जटिल अपाङ्गता भएका बालबालिकाले सम्भव भए सम्म धेरै आफूलाई प्रभावकारी हुने प्रकारको सूचना लिनुपर्दछ । यसको लागि धेरै समय र धैर्यता चाहिन्छ ।
  • कार्य समयतालिका स्थापना गरिसकेपछि, तपाईंको बालबालिकाले कुनै क्रियाकलापको प्रत्येक अलग अलग चरणको पहिचान गर्न सक्नुपर्दछ ।
  • यदि तपाईं दैनिक व्यक्तिगत हेरचाहका लागि थप समय दिन सक्नुहुन्छ भने, यसले ठूलो फरक पार्न सक्छ, तर यसलाई निरन्तरता दिन गाह्रो हुन सक्छ ।
  • तपाईंको बालबालिकाले राम्रो प्रतिक्रिया देखाएमा प्रशंसा गर्नुहोस्। यदि उनी केही गर्न चाहँदैनन् भने, तिनीहरूको भावना बुझ्ने कुरा देखाउनुहोस्, तर आवश्यक परेमा कार्य पूरा गर्नुपर्छ भन्ने कुरामा दृढ रहनुहोस्।

अपाङ्गता भएको मेरो बालबालिकाको लागि मैले उचित शिक्षा कहाँ पाउन सक्छु ?

विभिन्न देश र स्थानहरूमा अपाङ्गता भएका बालबालिकाहरूको शिक्षा लिने तरिका फरक हुन्छ, तर याद राख्नुपर्ने महत्वपूर्ण कुरा भनेको तपाईंको बालबालिकासँग पनि समुदायका अरू बालबालिकाहरू जस्तै शिक्षा प्राप्त गर्ने अधिकार छ। शिक्षा सम्बन्धी अधिकारका बारेमा बुझ्न अपाङ्गता भएका व्यक्तिको अधिकारबारे संयुक्त राष्ट्र संघीय महासन्धीको धारा २४ हेर्नुहोस् वा अपाङ्गता अधिकार एन २०७४ हेर्नुस्। स्थानीय संगठनहरूको सहयोग खोज्नुहोस्, जसले तपाईंलाई स्थानीय विशेष सेवाहरूको जानकारी दिन सक्छ।

मेरो बालबालिकामा  अपाङ्गताको  पहिचान भएकोछैन भने के हुन्छ ?

श्रवणदृष्टि विहीन  बालबालिकाहरू, बहुइन्द्रिय अपाङ्गता भएका बालबालिकाहरू वा जटिल अपाङ्गता भएका बालबालिकाहरूको अपाङ्गताको प्रकार पहिचान नहुने धेरै घटनाहरू हुन्छन् ।

तपाईंको बालबालिका जीवनका धेरै पक्षहरूमा संघर्ष गरिरहेका छन्, वा सामान्य रूपमा हुनुपर्ने वृद्धी विकास भैरहेको छैन भने, अवस्था र आवश्यकताको पहिचान गर्न विशेषज्ञको सल्लाह लिनुपर्ने हुन्छ ।

यदि तपाईं यो अवस्थामा हुनुहुन्छ भने तपाईंलाई आफ्नो बालबालिकाको अवस्था पहिचान गर्न सघाउ पुर्याउने स्थानीय स्वास्थ्यकर्मीसँग परामर्श गर्नुहोस् ।

यो सूचना श्रवणदृष्टि विहीन लगायत जटिल अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोग गर्ने संयुक्त अधिराज्य (युके)मा अवस्थित अपाङ्गता सम्बन्धी एक प्रमुख सहयोगि संस्था सेन्सले प्रदान गरेको हो ।

यो सामग्री अन्तर्राष्ट्रिय प्रयोगकर्ताको लागि सम्पादन गरिएको छ (२०२४)।

यो उपयोगी भयो कि भएन ?

साझेदारी गर्नुहोस्


मिल्दा जुल्दा स्रोत सामग्री

सहायक प्रबिधी

श्रवणदृष्टि विहीनता भएका व्यक्तिहरूका लागि नेपालमा उपलब्ध सहायक प्रविधिहरू हेर्नुहोस्।

नेपालका स्थानीय समाचारहरु

नेपालका स्थानीय समाचारहरू पढ्नुहोस्।

मोबाइल एपहरु

मोबाइल एप्लिकेशनहरूले तपाईंको अनलाइन अनुभव बढाउन मद्दत गर्दछ। यी सबै नेपालमा उपलब्ध छ ।