यो कसको लागि उपयोगी हुनेछ?

बहिरापन भएका व्यक्तिहरू, आमाबाबु / हेरचाहकर्ताहरू, शिक्षकहरू र आम जनता।

प्रकाशित मिति
फ्रेवुअरी 2025
सिर्जना
Sense UK

यो पेजमा श्रवणदृष्टि  विहीनताका बारेमा व्याख्या गरिएको छ । यसमा श्रवणदृष्टि विहीनताका विभिन्न प्रकारहरूबारे पनि जानकारी समावेश छ । साथै, भरखरै जन्मेको बालबालिका र वयस्कमा यसका कारणहरू, यसको निदान, यसका लक्षणहरू र यसको अन्तर्निहित कारणको उपचार र अवस्थाको व्यवस्थापनबारे पनि जानकारी छ ।

यो पृष्ठमा यसप्रकारका विषयहरू छन् :

श्रवणदृष्टि विहीनता भनेको के हो ?

श्रवणदृष्टि विहीनता भनेको आफैंमा एक छुट्टै प्रकारको अपाङ्गता हो । तर धेरै देशमा यसलाई अझै यही रूपमा मान्यता दिइएको छैन ।

यसको अर्थ तपाईंको दैनिक क्रियाकलापलाई असर गर्ने गरि दृष्टि र श्रवणमा सिमितता छ भन्ने हुन्छ । सूचनामा पहुँच प्राप्त गर्न, अन्य व्यक्तिहरूसँग सञ्चार गर्न र आफैँ हिँडडुल गर्न धेरै नै गार्हो हुनसक्छ ।

श्रवणदृष्टि विहीनता हुँदैमा तपाईं पूरै बहिरा वा दृष्टिविहिन भन्ने हुँदैन । धेरैजसो श्रवणदृष्टि विहीन व्यक्तिहरूमा केही न केही दृष्टि र श्रवण क्षमता हुन्छ ।

दृष्टि क्षमता र श्रवण क्षमतामा थोरै मात्र सिमितता हुँदा पनि दृष्टि क्षमता पनि सिमा र श्रवण क्षमतामा पनि सिमा हुने भएकाले धेरै चुनौतीहरू अनुभव हुनसक्छ ।

विश्व श्रवणदृष्टि विहीन महासंघले श्रवणदृष्टि विहीनतालाई एक ज्ञानेन्द्रियले अर्को ज्ञानेन्द्रियको अशक्ततालाई परिपुरण गर्न गार्हो हुनेसम्मको गम्भीर दृष्टि र श्रवण सम्बन्धी अशक्तताको मिश्रित स्वरूप भनी परिभाषित गरेको छ । त्यसैले श्रवणदृष्टि विहीनता छुट्टै प्रकारको अपाङ्गता हो । यद्यपि यसको कानुनी परिभाषा भने देश देश अनुसार फरक पर्न सक्छ ।

श्रवणदृष्टि विहीन अपाङ्गताले कसलाई असर गर्छ ?

श्रवणदृष्टि विहीन अपाङ्गताले बालबालिका, युवा लगायत सबै उमेरका मानिसलाई असर गर्दछ ।

उमेर बढेसँगै प्राकृतिक रूपमै हाम्रो दृष्टि क्षमता र श्रवण क्षमतामा ह्रास आउने भएकाले वृद्ध उमेरका व्यक्तिमा यो बढी देखिन्छ ।

संसारको जनसंख्याको ०.२ प्रतिशत व्यक्तिहरू गम्भीर श्रवणदृष्टि विहीन रहेको अनुसन्धानले देखाएको छ । थप २ प्रतिशत व्यक्तिहरू सामान्य स्वरूपका श्रवणदृष्टि विहीन अवस्थामा बाँचिरहेका छन् ।*

यसको अर्थ झण्डै १६ करोड मानिसहरू श्रवणदृष्टि विहीन अवस्थामा बाँचिरहेका छन् ।

* विश्व श्रवणदृष्टि विहीन महासंघ(२०२३) । श्रवणदृष्टि विहीन व्यक्तिहरूको अवस्थाबारे दोस्रो अन्तर्राष्ट्रिय प्रतिवेदनः श्रवणदृष्टि विहीन व्यक्तिहरूको समावेशिताबारे असल अभ्यास र सिफारिसहरू, सन् २०२३ मार्च

श्रवणदृष्टि विहीनका प्रकारहरू

श्रवणदृष्टि विहीनका प्रमुख दुई प्रकारहरू छन् ।

जन्मजात श्रवणदृष्टि विहीनता

जन्मजात श्रवणदृष्टि विहीनता भनेको जन्मे देखि नै दृष्टि र श्रवण सम्बन्धी अपाङ्गता भएको, वा जन्मेको दुई वर्ष भित्रमा श्रवणदृष्टि विहीन भनी पत्ता लागेको अवस्था हो ।

यो गर्भावस्थामा भएको कुनै सङ्क्रमणको कारणले, समय नपुगी जन्मेको कारणले, जन्मेको समयमा पुगेको आघात(भौतिक चोटपटक) र दुर्लभ वंशाणुगत अवस्था (बाबुआमा मध्ये एकबाट वंशाणुगत तरिकाले प्राप्त अवस्था)को कारणले हुने गर्दछ ।

पछि विकसित भएको श्रवणदृष्टि विहीनता

पछि विकसित भएको श्रवणदृष्टि विहीनता भन्नाले जीवनमा पछि दृष्टि र श्रवण क्षमतामा भएको ह्रास भन्ने बुझिन्छ । रोग, दुर्घटना वा उमेरको कारण कुनै पनि व्यक्ति कुनै पनि उमेरमा श्रवणदृष्टि विहीन बन्न सक्छन् ।

कहिलेकाहीँ, कुनै व्यक्ति जन्मिँदा बहिरा मात्रै वा दृष्टिविहिन मात्रै भई जन्मने, र उमेर बढेसँगै उसको अर्को ज्ञानेन्द्रियको क्षमता पनि परिवर्तन हुँदै वा ह्रास हुँदै जान सक्छ ।

श्रवणदृष्टि विहीनताका अन्य नामहरू

श्रवणदृष्टि विहीनलाई देहायका नामबाट पनि चिनिन्छः

  • दुई-इन्द्रिय अपाङ्गता
  • बहुइन्द्रिय अपाङ्गता

धेरै मानिसहरूले श्रवणदृष्टि विहीनतालाई यी नामले पनि सम्बोधन गर्दछन् ।

कतिपय व्यक्तिले दृष्टि र श्रवण क्षमताको अलि बढी गम्भीर ह्रासलाई जनाउन मात्र ”श्रवणदृष्टि विहीन” शब्दावलीको प्रयोग गर्दछन् ।

अन्य व्यक्तिहरूले भने “दुई-इन्द्रिय अपाङ्गता” ले श्रवणदृष्टि विहीनताको अनुभूतिलाई अझै स्पष्ट रूपले व्याख्या गर्छ भन्ने ठान्ने भएकाले “दुई-इन्द्रिय अपाङ्गता” भन्न रुचाउँछन् ।

अरुले भने “बहुइन्द्रिय अपाङ्गता” अझै स्पष्ट हो भन्ने ठान्छन् ।

कसैको कान र आँखाले कसरी काम गर्छ भन्ने मात्र नभई कान र आँखाबाट प्राप्त सूचना मस्तीष्कले कसरी प्रशोधन गर्छ भन्ने विषयको व्याख्या गर्न यसो भनिएको हुनसक्छ । स्पर्श, स्वाद र गन्ध जस्ता अन्य ज्ञानेन्द्रियलाई पनि असर परेको हुनसक्छ ।

श्रवणदृष्टि विहीनता के कारणले हुन्छ ?

जन्मजात श्रवणदृष्टि विहीनता र पछि विकास हुने श्रवणदृष्टि विहीनताका धेरै कारण छन् ।

जन्मजात श्रवणदृष्टि विहीनताका कारणहरू

जन्मजात श्रवणदृष्टि विहीनताका सम्भावित कारणहरू यस प्रकार हुनसक्छन् :

  • समयअगावै हुने जन्मसँग जोडिएका समस्याहरू – गर्भ रहेको ३७ महिनाभन्दा अगावै हुने जन्म
  • गर्भ भित्रै शिशुमा हुने सङ्क्रमण, जस्तै रुबेला (जर्मन दादुरा), टोक्सोप्लास्मोसिस वा साइटोमेगालोभाइरस (सीएमभी)
  • गर्भावस्था र जन्मको अवस्थामा भएका जटिलताहरू – आघात र पोषणमा कमी लगायत
  • वंशाणुगत अवस्था, जस्तै चार्ज सिण्ड्रोम वा डाउन सिण्ड्रोम
  • मस्तिष्क पक्षघात – खासगरि चाल र समन्वयमा असर पुर्याउने मस्तिष्क र स्नायू प्रणालीको समस्या ।
  • फिटल अल्कोहल सिण्ड्रोम – गर्भावस्थामा आमाले रक्सी पिउँदा आउने स्वास्थ्य समस्या ।

पछि विकास हुने श्रवणदृष्टि विहीनताका कारणहरू

पछि विकास हुने श्रवणदृष्टि विहीनका सम्भावित कारणहरू यस प्रकार छन् :

  • उमेरको कारणले श्रवण क्षमतामा हुने ह्रास ।
  • अशर सिण्ड्रोम – सुनाइ, दृष्टि र सन्तुलनलाई असर गर्ने एक वंशाणुगत अवस्था ।
  • उमेरको कारणले हुने आँखाको समस्या, जस्तै उमेरको कारणले हुने मकुलार डिजेनेरेशन, मोतिबिन्दु र  जलविन्दु  ।
  • मधुमेहसँग सम्बन्धित रेटिनोपेथी – रगतमा चिनीको मात्रा धेरै हुँदा आँखाको पछाडि हुने कोषिकाहरूमा क्षति पुग्छ ।
  • मेनिन्जाइटिस, इन्सेफलाइटिस, पक्षघात वा टाउकोमा गम्भीर चोट आदिको कारण हुने मस्तिष्क क्षय ।
  • सेरेब्रल मलेरिया

श्रवणदृष्टि विहीनताको लक्षण पहिचान

श्रवण शक्तिमा क्षय भएको केही साझा लक्षणहरू यस प्रकार छन्:

  • कसैले पछाडिबाट बोल्दा नसुन्नु ।
  • आफू बसेको स्थानमा कोही आएको नसुनेर तर्सिनु ।
  • टेलिभिजन, रेडियो वा मोबाइल फोनको भोल्युम वा आवाज ठुलो बनाउन पर्नु ।
  • आफूसँग बोलेका मानिसलाई जवाफ दिन ढिलाई हुनु ।

दृष्टि क्षमता ह्रास भएका व्यक्तिमा देखिने लक्षणहरु यस प्रकार छन् :

  • कम प्रकाश वा धेरै प्रकाश भएको ठाउँमा हेर्न गार्हो हुनु ।
  • आफूले चिनेकै व्यक्तिलाई पनि, खासगरि अनपेक्षित परिवेशमा, नचिन्नु ।
  • वस्तुहरू खोज्न सामान्य भन्दा धेरै छुवाइमा भर पर्नु ।
  • किताब, पत्रपत्रिका वा मोबाइल फोन अनुहारको धेरै नजिक राख्नपर्नु, वा टेलिभिजनको नजिक बस्न पर्नु ।

तपाईंलाई पहिले देखि नै श्रवण सिमितता छ वा तपाईं बहिरा हुनुहुन्छ भने, वा हियरिङ्ग एड लगाइरहनुभएको छ वा साङ्केतिक भाषाको प्रयोग गरिरहनुभएको छ भने, आफ्नो आँखाको हेरविचार गर्नुहोस् । आँखाको शक्ति पनि गुम्दै गएको छ कि भनी लक्षणहरू  प्रति सचेत रहनुहोस् र आँखा विशेषज्ञसँग आँखा जचाउँनुहोस् । सम्भव भएसम्म,  नियमित रूपमै आँखा जँचाउनुपर्दछ ।

तपाईंलाई पहिले देखि नै दृष्टि सिमितता छ वा चश्मा लगाउनुहुन्छ, सेतो छडी प्रयोग गर्नुहुन्छ वाजलविन्दु  वा मोतिबिन्दु जस्तो समस्या छ भने, आफ्नो श्रवण शक्तिको ख्याल गर्नुहोस् । श्रवण शक्ति पनि गुम्दै छ कि भनी लक्षणहरू प्रति सचेत रहनुहोस् र अडियोलोजिष्टसँग श्रवण शक्तिको जाँच गराउनुहोस् । सम्भव भएसम्म नियमित रूपमा जचाउँनुपर्दछ । माथि उल्लेख गरिएका कुनै पनि लक्षण देखिएमा आफ्नो स्थानीय चिकित्सक वा स्वास्थ्यकर्मीलाई जतिसक्दो छिटो सम्पर्क गर्नुहोस् ।

श्रवणदृष्टि विहीनता जति चाँडै पहिचान भयो, त्यति नै चाँडै उपचार सम्भव भए उपचार सुरु गर्न सकिन्छ, वा यस अवस्थाको व्यवस्थापन सुरु गर्न सकिन्छ । खासगरि यो विषय शिशुहरू र बालबालिकाको लागि बढी उपयुक्त हुन्छ, किनभने उनीहरू हुर्कँदै बढ्दै छन् र आफ्नो सञ्चार सिप सिक्दै छन् र अन्य वृद्धी विकासका कोसेढुङ्गाहरू प्राप्त गर्दैछन् ।

यो सूचना श्रवणदृष्टि विहीन लगायत जटिल अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोग गर्ने संयुक्त अधिराज्य (युके)मा अवस्थित अपाङ्गता सम्बन्धी एक प्रमुख सहयोगि संस्था सेन्सले प्रदान गरेको हो ।

यो सामग्री अन्तर्राष्ट्रिय प्रयोगकर्ताको लागि सम्पादन गरिएको छ (२०२४)।

यो उपयोगी भयो कि भएन ?

साझेदारी गर्नुहोस्


मिल्दा जुल्दा स्रोत सामग्री

सहायक प्रबिधी

श्रवणदृष्टि विहीनता भएका व्यक्तिहरूका लागि नेपालमा उपलब्ध सहायक प्रविधिहरू हेर्नुहोस्।

नेपालका स्थानीय समाचारहरु

नेपालका स्थानीय समाचारहरू पढ्नुहोस्।

मोबाइल एपहरु

मोबाइल एप्लिकेशनहरूले तपाईंको अनलाइन अनुभव बढाउन मद्दत गर्दछ। यी सबै नेपालमा उपलब्ध छ ।